नेपाल राष्ट्र बैंक : मुलुकको केन्द्रीय बैंक

 



राष्ट्र बैंक ऐन, २०१२ अनुसार २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकाले यस ले मूलत : मुलकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । यसैले केन्द्रीय बैंकलाई ‘मौद्रिक अधिकारी’ र ‘नियामक निकाय’ पनि भन्ने गरिएको छ । नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको व्यवस्थापन गर्ने, मौद्रिक नीतिको सञ्चालन गर्ने, सरकारको बैंक तथा बैंकहरूको बैंकका रूपमा भूमिका निर्वाह गर्दै आएको छ । हरेक मुलुकमा एउटा मात्र केन्द्रीय बैंक रहन्छ । यसको अर्थ कुनै पनि मुलुकको मौद्रिक प्रणाली एकै खालको हुने गर्दछ । नेपाल राष्ट्र बैंक नेपालको वित्तीय प्रणालीको नियामक तथा सुपरिवेक्षकीय निकाय हो । नेपाल राष्ट्र बैंक स्थापना हुनुभन्दा अघि २००२ सालमा सदर मुलुकी खानाबाट नेपाली नोट निष्कासन गरिएको थियो ।

नेपाल राष्ट्र बैंकको दूरदृष्टि (Vision) र लक्ष्य (Mission) :

दूरदृष्टि (Vision) – आधुनिक, गतिशील, विश्वसनीय एवम्‌ प्रभावकारी केन्द्रीय बैंक

लक्ष्य (Mission) – सबल तथा प्रभावकारी मौद्रिक, विदेशी विनिमय एवम्‌ वित्तीय क्षेत्र नीतिहरूका माध्यमबाट समग्र आर्थिक स्थिरता कायम राख्ने ।





नेपाल राष्ट्र बैंकका उद्देश्यहरू

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४ मा उल्लेख भएअनुसार नेपाल राष्ट्र बैंकका उद्देश्यहरू यस प्रकार छन्‌:

आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय तीति निर्माण गरी सोको व्यवस्थापन गर्ने,
वित्तीय सेवाको पहुँच अभिवृद्धि र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने,
सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने ।
नेपाल राष्ट्र बैंकका काम, कर्तव्य र अधिकार

नेपाल राष्ट्र बैंक ऐन, २०५८, दफा ५ मा उल्लेख भएबमोजिम नेपाल राष्ट्र बैंकका काम, कर्तव्य र अधिकारहरू यस प्रकार छन्‌ :

बैंक नोट तथा सिक्का निष्कासन गर्ने,
मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने, गराउने,
बिदेशी विनिमय नीति निर्माण गर्ने तथा सो नीति कार्यान्वयन गर्ने,गराउने,
बिनिमय दर पद्धति निर्धारण गर्ने,
विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्ने,
वाणिज्य बैंक तथा वित्तीय संस्थालाई बैंकिङ तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने, त्यस्तो कारोबारका सम्बन्धमा आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,
नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टका रूपमा कार्य गर्ने,
वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम क्रणदाताका रूपमा कार्य गर्ने,
भुक्तानी, फर्छयाट (क्लियरिङ) तथा हिसाब मिलान (सेटलमेन्ट) पर्द्धातको स्थापना तथा प्रवर्द्धन गरी सो कार्यलाई नियमित गर्ने,
तरलता व्यवस्थापनका निमित्त आवश्यक उपकरणका माध्यमद्वारा खुला बजार कारोबार सञ्चालन गर्ने,
बैंकको उद्देश्य हासिल गर्नका निमित्त बैंकले गर्नुपर्ने अन्य आवश्यक कार्यहरू कार्यान्वयन गर्ने, गराउने।

Comments

Popular posts from this blog

फाइलिङ भनेको के हो?यसका उद्देश्यहरु लेखी फाइल राख्ने तरिकाहरु उल्लेख गर्नुहोस्।

कर्जा अपलेखन भनेको के हो?कर्जा अपलेखन किन गरिन्छ?

Good For Payment Cheque