अर्थतन्त्रको बाह्य क्षेत्रमा के के पर्दछन् ? नेपालको व्यापार असन्तुलनका प्रमुख कारणहरु समेत औल्याउनुहोस् ।
कुनै देशको अर्थतन्त्रको त्यो खण्ड जसमा अन्य देशको अर्थतन्त्र जोडिएको हुन्छ त्यसलाई नै बाह्य अर्थतन्त्र भन्ने गरिन्छ । खासगरी वस्तुवजारमा आयात तथा निर्यात एवं वित्तीय वजारमा पुँजीको प्रवाह (जस्तो FDI) बाह्य अर्थतन्त्रका विषय हुन् । भुक्तानी सन्तुलन, Terms of trade, चालु खाता, पुँजीगत खाता, वाह्य ऋण, विनिमय दर, वाह्य मुद्राको संचिति, अन्तराष्ट्रिय लगानीको अवस्थाजस्ता विषयहरु बाह्य अर्थतन्त्रमा पर्दछन् ।
नेपालको अन्तरदेशीय व्यापारको आँकडा हेर्ने हो भने निर्यातको तुलनामा आयात ११ गुणाभन्दा पनि वढि पुगेको अवस्था हेर्दा व्यापार घाटा चुलिदै गएको छ । यसबाट भुक्तानी सन्तुलन विग्रने जोखिम वढेको छ । यसरी व्यापार असन्तुलन वढ्नुका प्रमुख कारणहरु यसप्रकार रहेका छन् :
• व्यापार नीति र रणनीतिमा प्रष्टता नआउनु तथा अन्य नीतिहरुसँग तादात्म्यता कायम नहुनु ।
• उत्पादकत्व कम हुनु र उत्पादन भएका वस्तुहरु पनि न्युन मूल्य अभिवृद्धि हुने खालका हुनु ।
• व्यापार सहजीकरणमा कमजोरी रहनु तथा वस्तुगत र देशगत व्यापार विविधिकरण कमजोर हुनु ।
• व्यापार प्रवर्द्धनका लागि पर्याप्त पूर्वाधार विकास नभैसक्नु ।
• आधुनिक प्रविधिको प्रयोग हुन नसक्नु, Research and Development मा कमै ध्यान दिइनु ।
• विलासिताका वस्तुहरुको अनियन्त्रित प्रवेश पाउनु
• रेमिटेन्सको वृद्धिसँगै उपभोगमुखी प्रयोग हुनु ।
• भूपरिवेष्ठित देश भएकाले समय तथा लागत वढी हुनु
• छिमेकी देशको वजारलाई हेरी तुलनात्मक लाभका र पूरक भूमिका भएका वस्तु तथा सेवाको उत्पादन हुन नसक्नु
• पेट्रोलियम पदार्थको मागमा भएको ज्यादा वृद्धि
व्यापार असन्तुलन घटाउनका लागि कि त उत्पादन वढाउनुपर्दछ कि मागलाई घटाउनुपर्दछ । विप्रेषणको उत्पादक प्रयोग, वैकल्पिक उर्जालाई प्रोत्साहन गर्नुपनि आयात घटाउने उपाय हुन सक्छन् । आत्मनिर्भर अर्थतन्त्र नभएपनि परस्पर निर्भरताको अवस्था ल्याउन सके व्यापार घाटा घटेर जाने देखिन्छ ।
Comments
Post a Comment