Explain the concept of banking and its development in Nepal
बैंकिङ अवधारणा र नेपालमा यसको विकासक्रम व्याख्या गर्नुहोस् ।
उत्तरः बैंक भनेको त्यस्तो संस्था हो जसले पैसा बढी भएको क्षेत्र (Surplus Sector) बाट निक्षेपको रुपमा संकलन गरी पैसा कम भएको क्षेत्र (deficit sector) मा लगानी गर्दछ । यो त्यस्तो किसिमको संस्था हो जसले मुद्राको कारोबार गर्ने अधिकार पाएको हुन्छ र यसमाथि सबैको विश्वास हुन्छ ।
इटालियन शब्द banco, ल्याटिन शब्द bancus, फ्रेन्च शब्द banque आदिजस्ता भाषाहरुबाट बैंक शब्दको उत्पत्ति भएको मानिन्छ जसको शाब्दिक अर्थ बेन्चमा बसी मुद्रा सम्बन्धी कारोबार गर्नु हो ।
R.P. Kent का अनुसार "Bank is an institution which collects idle money temporarily from the public and lends to other people as per need."
समग्रमा निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने जस्ता परम्परागत कार्यमात्र नभएर साख सिर्जना, विप्रेषण, जमानत, एजेन्सी तथा अन्य वित्तिय कारोबार गर्ने संस्थालाई बैंक भनिन्छ । बैंकले समग्र अर्थतन्त्रलाई चलायमान बनाउँदै अर्थतन्त्रको मियोको रुपमा काम गर्दछ । विशेष गरी केन्द्रीय बैंक (मौद्रिक निकाय) र अन्य विभिन्न उद्देश्य लिएर स्थापना भएका बैंकहरु प्रत्येक अर्थतन्त्रमा हुन्छन् ।
नेपालमा बैंकिङ विकासक्रमः
प्राचीनकालः
· प्राचीनकालमा साहू महाजनहरुले गर्ने व्यावसायिक कारोबारलाई बैंकको आधारस्तम्भ मान्ने गरिन्छ ।
· कर्जा लिएबापत घिउ, अन्न, ठेकी, श्रम आदि व्याज लिने गरिन्थ्यो ।
· गोरखाका राजा राम शाहले वार्षिक व्याज नगदको सयकडा दश र जिन्सीको सयकडा बीस निर्धारण गरी जतिसुकै व्याज खप्टिएर पनि नगदको साँवा बराबर मात्र र जिन्सीमा साँवाको दोब्बर सम्म लिन पाउने व्यवस्था गरेका थिए ।
· प्राचीन समयमा मुद्राहरुमा मानांक, गुणांक, वैष्णव, पशुपति आदि जस्ता अंकित मुद्राहरु प्रयोग गरेको पाइन्छ ।
· आठौं शताब्दीमा राजा गुणकामदेवले काठमाडौंमा बस्ती बसालेको, शंखधर शाख्वाले काठमाडौं र भक्तपुरका जनताहरुलाई ऋणमुक्त गराएको वर्णन पाइन्छ ।
· १६ औं शताब्दीमा सदाशिव देव र मल्ल राजाहरुले सुन, चाँदीका मुद्रा चलाउनु र तत्पश्चात श्री ५ पृथ्वीनारायण शाहबाट पनि मोहर प्रचलनमा ल्याउनु बैंकिङ पद्धतिको विकासको रुपमा लिइन्छ ।
नेपालमा संस्थागत रूपमा वि.सं १९३३ मा तेजारथ अड्डा र वि.सं १९८९ मा टक्सार अड्डा स्थापना गरी बैंकिङ कारोबार थालनी गरियो ।
नेपालमा बैंक तथा वित्तिय संस्थाहरूको स्थापनाका लागि लिइएका नीतिगत व्यवस्था,स्थापनाको क्रम लगायतका आधारमा यसको विकासक्रमलाई निम्नानुसार ५ चरणमा विभाजन गरी चर्चा गर्न सकिन्छ ।
१. पहिलो चरण (१९९४ देखि २०४० सालसम्म)
वि.सं. १९९४ मा पहिलो बैंकका रुपमा नेपाल बैंकको स्थापनादेखि देशमा आर्थिक उदारिकरण नीति अवलम्बन नगरिएको बर्ष २०४० साल सम्मको अवधिलाई नेपालको बैकिङ क्षेत्रको विकासक्रमलाई पहिलो चरण मान्न सकिन्छ । पहिलो चरणमा भएको बैंकिङ क्षेत्रको विकासक्रम निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।
· देशको केन्द्रिय बैंकको रूपमा वि.सं.२०१३ मा नेपाल राष्ट्र बैंकको स्थापना भयो ।
· वि.सं. २०१६ मा नेपाल राष्ट्र बैंकले रु १, ५, १० र १०० का नोटहरु निष्काशन गर्यो ।
· औद्योगिक विकासमा विशेष योगदान पुगोस् भन्ने हेतुले वि.सं. २०१६ मा नेपाल औद्योगिक विकास निगम स्थापना गरियो ।
· सहकारी प्रणालीलाइ विकास गरी बैंकिङ क्षेत्रमा विशिष्टिकरणको सेवा प्रदान गर्न वि.सं. २०२० मा सहकारी बैंकको स्थापना भयो ।
· औद्योगिक विकासमा थप टेवा दिने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक ऐन,२०२१ तर्जुमा गरी वि.सं २०२२ माघ १० मा राष्ट्रिय वाणिज्य बैंक स्थापना भयो ।
· यसै गरि सहकारी बैकलाई गाभेर कृषि विकास बैंक ऐन २०२४ अनुसार विं.सं २०२४ माघ ७ मा कृषि विकास बैंक स्थापना भयो । पछि २०३० सालमा यसले भूमिसुधार बचत निगमलाई पनि आफूमा गाभ्यो ।
२. दोस्रो चरण (२०४१ देखि २०४८सालसम्म)
द्रोस्रो चरणमा भएको बैंकिङ क्षेत्रको विकासक्रम निम्नानुसार प्रस्तुत गर्न सकिन्छ
· यस अवधिमा देशमा निजी तथा विदेशी लगानीमा ३ वटा वाणिज्य बैंकहरू स्थापना भए ।
१)मिति २०४१/०३/२९ मा नविल बैक लि को स्थापना भयो ।
२)मिति २०४२/११/२६ मा इन्भेष्टमेन्ट बैंक लि को स्थापना भयो ।
३)मिति २०४३/१०/१६ मा स्टाण्डर्ड चार्टर्ड लि को स्थापना भयो ।
· आर्थिक उदारीकरण लागु गरिए अनुरूप विदेशी सयुक्त लगानीका बैंकहरू स्थापना हुने क्रम यसै चरणबाट सुरू भएको देखिन्छ ।
३. तेस्रो चरण (२०४९ देखि २०५८ सालसम्म):
१)यस चरणमा वाणिज्य बैंक ऐन, विकास बैंक ऐन र वित्त कम्पनी ऐन तीन वटै लागु भयो ।
२)यस अवधिमा ११ वटा वाणिज्य बैंक, १९ वटा विकास बैंक र ५२ वटा वित्त कम्पनी स्थापना भयो ।
३)यसै अवधिमा वित्तिय क्षेत्र सूधार कार्यक्रम पनि सुरु गरियो ।
यस चरणमा वित्त कम्पनीको स्थापना बढी भएकोले यस चरणलाई वित्त कम्पनी स्थापनाकाल पनि भन्न सकिन्छ ।
४. चौथो चरण (२०५९ देखि २०६८सालसम्म)
१) यस चरणमा नेपाल बैंक कानुन, नेपाल औद्योगिक विकास निगम ऐन,राष्ट्रिय वाणिज्य बैंक ऐन,कृषि विकास बैंक ऐन, वाणिज्य बैंक ऐन,वित्त कम्पनी ऐन, विकास बैंक ऐनलाई एकीकृत गरी छाता कानुनको रूपमा बैंक तथा वित्तिय संस्था सम्बन्धी अध्यादेश,२०५९ तर्जुमा गरिएको थियो ।
२) कम्पनी ऐन, २०६३ ले बैंकहरुलाई पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता हुने व्यवस्था गर्यो ।
३) वि.सं. २०५८ मा नेपाल राष्ट्र बैंक ऐनले ने.रा.बैंकलाई सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको नियामक निकाय तथा सर्वोच्च मौद्रिक निकायका रुपमा स्थापित गर्यो ।
४) आ.व. २०५९-६० देखि राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा र जारी गर्न थाल्यो ।
५. पाँचौ चरण (२०६८–हालसम्म)
१)यस अवधिमा राष्ट्र बैंकले चुक्ता पुँजीको मात्रा बढायो ।
२)राष्ट्र बैंकबाट वित्तिय संस्थाहरू समस्याग्रस्त घोषित भए ।
३)वि.सं २०७४ सालमा पूर्वाधार विकास बैकको स्थापना भयो ।
४)वि.सं. २०७६ मा राष्ट्र बैंकले मर्जर रणनीति अपनाउने उद्देश्यले विभिन्न रणनीतिक कदम चालेको छ ।
५) हालसालै कोभिड १९ महामारीका कारण बैंकिङ क्षेत्रमा सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले राष्ट्र बैंकले डिजिटल अवधारणा अनुरुप "Work From Home"अर्थात घरबाटै पनि बैंकिङ व्यवसाय गर्न सकिने जस्ता प्रावधान विकास गर्दै लगेको छ ।
निष्कर्षः नेपाली बैंक तथा वित्तिय संस्थाहरूको हालसम्मको विकासक्रम नियाल्दा रोमाञ्चक देखापर्दछ । हाल आएर यसको सङ्ख्यात्मक विकासक्रम हेर्दा २०८० वैशाख मसान्तमा २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६३ लघुवित्त संस्थाहरू र १ पूर्वाधार विकास बैंक गरी ११९ बैंक तथा वित्तिय संस्थाहरु ११५६९ शाखासहित संचालनमा रहेका छन् । सरकारको बजेट २०७६/७७ यता र नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०७६/७७ यता ठुला बैंकहरु गाभ्न प्रोत्साहित र केही मात्रामा नियमनकारी अधिकार लागू गरी बैंकहरुको वित्तिय स्वस्थता र अर्थतन्त्रमा बढ्दो व्यापार घाटा कम गर्न बैंकिङ क्षेत्रको गुणस्तर वृद्धिमा जोड दिएको छ ।
Comments
Post a Comment